काठमाडौं । नेपाली सेना नेतृत्वको हिमाल सफाइ अभियान टोली सगरमाथा आधार शिविर पुगेको छ । अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइको लागि वैशाख २ गते काठमाडौंबाट स्याङ्गबोचे प्रस्थान गरेको टोली आइतबार सगरमाथा आधार शिविर पुगेको हो ।
यसअघि उक्त टोलीले हिमाल सफाइ कार्यलाई प्रभावकारीरूपमा सञ्चालन गर्न नाम्चेमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, सगरमाथा प्रदूषण नियन्त्रण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय तहलगायत विभिन्न संघ संस्थाका प्रमुख/प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सञ्चालन गरेको थियो । यसैगरी उक्त टोलीले नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म जाने क्रममा पदमार्गमा रहेका फोहर समेत संकलन गरेका थिए । आधार शिविर पुगेपछि आवश्यक प्रबन्ध मिलाएपश्चात् उक्त टोली हिमाल सफाइ कार्यको लागि परिचालित हुने नेपाली सेनाले जनाएको छ । यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र पाँच वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ ।