काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै विगत १७ वर्षदेखि आम नेपाली सर्वसाधारण ग्राहकहरूमाझ सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालनसम्बन्धी सम्झौता भएको हो । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरेका हुन् ।
भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन् । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले २० हजार रुपैयाँदेखि दुई लाख ५० हजार रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन् । भर्चुअल क्रेडिट कार्ड क्युआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ईएमआईको सुविधा पनि रहेको छ । बैंकले ग्राहकहरूलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ । साथै, उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि एक सय प्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ ।
भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटलरूपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनमार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरूलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ ।
बैंकले देशैभर रहेका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख २४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप सात वटा शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।