बाँके, जेठ २९
सशस्त्र प्रहरीले बाँकेले डुडुवा गाउँपालिकाको वडा नम्बर १ बाट साढे दुई लाखबराबरको अवैध सुर्तीजन्य सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी नेपालगञ्ज बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमाण्डमा रहेको गस्ती टोलीले मगलवार डुडुवा गाउँपालिकाको वडा नम्बर १ खडैैैैैचाबाट भारतबाट तस्करी गरेर ल्याइँदै गरिएको दुई लाख ४३ हजार रूपैयाँबराबरको सुर्तीजन्य सामान बरामद गरेको हो ।
भारतबाट बिहानी समयमा तस्करले बोकेर ल्याउदै गरेको अवस्थामा गस्ती गर्दै गरेको सशस्त्र प्रहरी गाडीलाई देखेपछि तस्करहरूले सुर्तीजन्य सामान छोडेर भारततर्फ भागेका प्रहरी सहायक निरीक्षक भाटले भने । बरामद गरिएको सुर्तीजन्य सामान कमलापसन्द, सुपरपावर सुर्ती, बिँडी रहेको उनले बताए । त्यस्तै मंगलबार बिहानै सशस्त्र प्रहरीले ४० हजार रूपैयाँबराबरको अवैध पानको पात समेत बरामद गरी नष्ट गरेको छ ।
यसैगरी सशस्त्र प्रहरीले गस्तीकै क्रममा नेपालगञ्ज वडा नम्बर २३ बाट एक लाखबराबरको अवैध सालको २५ क्वीयु फिट गोलिया समेत बरामद गरेको छ । बरामद गरिएका सुर्तीजन्य सामग्रीलाई भन्सार कार्यालय बुझाइएको र सालको काठलाई जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ ।