जनकपुर । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मंगलबार सडक दुर्घटनामा परी एक जना पत्रकारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जनाएको छ ।
पत्रकार यादवे मंगलबार बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नं को मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका पत्रकार यादवको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए ।
प्रहरीले मोटरसाइकलको पछाडि सवार रहेका यादवका छिमेकी लक्ष्मीनारायण यादव घाइते भएको र निजको उपचार सोही अस्पतालमा भइरहेको बताएको छ । धनुषाधाम नगरपालिका वडा नं ५ का स्थानीय बासिन्दा रहेका मृतक पत्रकार रेडियो धनुषाधामका सञ्चालक तथा ई–न्युज ब्युरोका कार्यकारी सम्पादक थिए ।