काठमाडौँ, जेठ २९
छिमेक लघुुवित्त वित्तीय संस्था र ई–सेवाबीच सम्झौता भएको छ । डिजिटल प्रविधिमा अगाडि बढ्न ई–सेवा फोनपेसँग सम्झौता गरेको संस्थाले जनाएको छ । सम्झौतामा छिमेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी र ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका छन् । संस्थाले आफ्ना ग्राहक सदस्यहरूलाई डिजिटल भुक्तानी सेवा उपलब्ध गराउन उक्त सम्झौता गरेको जानकारी दिएको छ ।
यसबाट वित्तीय संस्थाका ग्राहकहरू र कर्मचारीहरूलाई प्रविधिमा अभ्यस्त गराउँदै वित्तीय कारोबारमा निकै नै सहजता र लागत कम हुनेमा विश्वास गरिएको र यो कार्यक्रम नेपालको लघुवित्त क्षेत्रमा पहिलो अनुभव भएको संस्थाले जनाएको छ । लघुवित्तका ग्राहकहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको यस प्रविधिमार्फत ग्राहकहरूले आफ्नो घरबाटै भुक्तानी गर्न सकिनेछ । जसले ग्राहकको समयको बचत हुनुको साथै आर्थिक व्ययभार समेत कम हुनेछ र समयअनुसार प्रविधिको सदुपयोग हुनेछ ।
हाल विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ जस्ता विषम परिस्थितिको कारण बैंकिङ क्षेत्रमा पारेको वा पार्नसक्ने भुक्तानी प्रणालीलाई यो प्रविधिले ठूलो टेवा पु-याउनेमा विश्वास राखिएको संस्थाले जनाएको छ । संस्थाका अनुसार ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । ई–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।
ई–सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । संंस्थाले एक सय ३७ वटा शाखा तथा डिजिटल कार्यालयमार्फत तीन लाख ७३ हजारभन्दा धेरै सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५९ करोड ७८ लाख ९० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ६४ करोड ३० लाख २३ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ५० करोड रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १८ अर्ब सात करोड २३ लाख ५३ हजार रूपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३७ करोड ४० लाख ९३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब २६ करोड २९ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १५ करोड ४५ लाख ४४ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ४१ प्रतिशत रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा भने १३ अर्ब ९० करोड ९८ लाख ४६ हजार रूपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १५ करोड ६४ लाख ९१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २३ करोड २७ लाख ९३ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ८८ लाख ५२ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २६ प्रतिशत रहेको थियो ।