काठमाडौं । नबिल बैंकको वीरगञ्ज शाखाबाट झण्डै डेढ करोड रुपैयाँ नगद चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंंगलबार बिहान करिब चार बजेतिर पाँच/छ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले वीरगञ्जको बाइवास रोडमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैैयाँ नगद रकम चोरी गरेका हुन् ।
रकम बिहान चार बजे चोरी भएको भए पनि चोरीको घटना चार घन्टापछि आठ बजेतिर मात्र सार्वजनिक भएको पर्सा प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बैंकको भल्टमा पाँच सय र एक हजार दरका नोट राखिएकोमा चोरको समूहले म्याँस कटरको माध्यमद्वारा टिनको बाकसबाट रकम झिकेर लगेको खुलेको छ । चोरी गरेको रकम बोरामा हालेर लगेको र चोरीको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।