काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले छुट्टै श्रमिक अस्पताल निर्माण गर्न सरकारसँग माग गरेको छ । एक सय ३५औँ श्रमिक दिवसको अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जेटीयूसीसीले १९ बुँदे माग सार्वजनिक गर्दै श्रमिकका लागि श्रमिक बहुल क्षेत्रमा अस्पताल निर्माण गर्नुपर्ने माग राखेको हो ।
स्वास्थ्य सेवा अत्यन्त महँगो भएकाले श्रमिकहरू स्वास्थ्य उपचारबाट बञ्चित रहँदै आएको जेटीयूसीसीले जनाएको छ । यस्तै, सामाजिक सुरक्षा कोषमा ५० अर्ब रकम जम्मा भइसक्दा पनि श्रमिकले सिटामोल नपाएको जेटीयूसीसीको आरोप छ । जेटीयूसीसीले औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा काम गर्ने श्रमिकका लागि सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, रोजगारदाताको लागि लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने, श्रम ऐन दफा १४५ लगायत श्रमसम्बन्धी ऐन नियमहरूमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्नेलगायतका माग राखेको छ ।
त्यसैगरी श्रमिकलाई बाँच्न पुग्ने ज्यालाको व्यवस्था गर्नुपर्ने, श्रमिक अस्पताल निर्माण गर्नुपर्ने, सामाजिक सुरक्षा करको रूपमा श्रमिकसँग कट्टा गरेको रकम सामाजिक सुरक्षा कोषमा नै जम्मा गर्ने व्यवस्था गर्नुपर्ने पनि जेटीयूसीसीले माग गरेको छ । जेटीयूसीसीले सार्वजनिक गरेको मागपत्रमा पेशागत महासंघ नेपाल, जेटीयूसीसी तथा आईसीटीयू, समाजवादी ट्रेड युनियन महासंघ, एकीकृत ट्रेड युनियन महासंघ, राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल, नेपाल समाजवादी ट्रेड युनियन महासंघ र स्वतन्त्र ट्रेड युनियन महासंघले ऐक्यबद्धता जनाएका छन् ।