काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ ।
‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारासहित वैशाख २० गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै छ । सोही अवसरमा टेलिकमले अफर उपलब्ध गराउने भएको हो । सो अफर बुधबारदेखि सुरु भई शुक्रबारसम्म लागू हुनेछ । यसअन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेजअन्तर्गत एक सय ११ रुपैयाँमा पाँच दिन चलाउन सकिने छ जीबी डाटा, एक सय ९९ रुपैयाँमा सात दिन चलाउन सकिने १३ जीबी डाटा, दुई सय ९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र तीन सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।