काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पूजा र श्रम नै प्रसाद भएको उल्लेख गरेका छन् ।
रोजगारीको सृजना, श्रमको सम्मान, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्व प्रधानमन्त्री ओलीले आह्वान पनि गरेका छन् ।
‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेको उनले बताए ।