नयाँ दिल्ली, जेठ २९
भारतीय व्यापारीहरुले चीन र भारतबीच पछिल्लो समय चर्किएको सीमा विवादसँगै चिनियाँ वस्तु बहिष्कार अभियान थालेका छन् । भारतीय मिडियाहरुका अनुसार परम्परागत रुपले खुद्रा कारोबार गर्दै आएका व्यापारीहरुको मञ्च कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्स (क्याट)ले बुधबार चिनियाँ वस्तु बहिष्कार गर्ने घोषणा गरेको हो । उनीहरुले भारतीय सामान हाम्रो अभिमान नारासहित राष्ट्रिय अभियान सुरु गरेको नवभारत टाइम्सले जनाएको छ । यो संगठनमा आबद्ध व्यापारीहरुले सन् २०२१ को डिसेम्बरसम्म चीनमा बनेका वस्तु भारत आयातमा १ खर्ब भारु कम गर्ने लक्ष्य राखेका छन् । यो संगठनले प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सारेको आत्मनिर्भर भारतलाई सफल बनाउन यो कदम उपयोगी हुने जनाएको छ ।
संगठनका महासचिव प्रवीण खन्डेवालले दिल्लीमा एक भिडियो सम्मेलनमा यो अभियानको पहिलो चरणमा चीनमा बनेका ३ हजार वस्तुको सूची नै बनाइसकेको छ । जुन वस्तु हाल भारतमा आयात हुने गरेको छ । यी वस्तुहरु भारतमा समेत लामो समययता उत्पादन हुँदै आएका छन् । अभियान सफल पार्न संगठनले भारतीय व्यापारी र उपभोक्तालाई चेतना जागृत पार्ने बताएको छ । पहिलो चरणमा चीनबाट आयात हुने तयारी वस्तुको बहिष्कार गरिने निर्णय लिइएको हो । भारतले वर्षेनी चीनबाट ७० अर्ब अमेरिकी डलरको वस्तु आयात गर्दै आएको छ ।