काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो ।
राससका अनुसार सन् २०२३ को अप्रिलमा कूल ९८ हजार सात सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा एक लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार पाँच सय ८९, सन् २०२१ मा २२ हजार सात सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा एक लाख नौ हजार तीन सय ९९ पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार एक सय ५८, अमेरिकी पर्यटक नौ हजार नौ सय ४७, चिनियाँ नौ हजार सात सय ५० विदेशी पर्यटक नेपाल आएका छन् । साथै बेलायतबाट पाँच हजार तीन सय ९१, अष्ट्रेलियाबाट चार हजार एक सय १०, बङ्गलादेशबाट चार हजार तीन, फ्रान्सबाट तीन हजार सात सय ५५, जर्मनीबाट तीन हजार दुई सय ७०, रसियाबाट दुई हजार नौ सय ७७ र मलेसियाबाट दुई हजार तीन सय १० पर्यटक नेपाल आएका छन् ।