काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बजेट अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
‘नेपालको संविधानको धारा ९३ उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २० गतेको सिफारिसमा वैशाख २८ गते शुक्रबारका दिन २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।