वासिङ्टन डिसी । अमेरिकी केन्द्रीय बैंकिङ ‘फेडरल रिजर्भ’ ले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । अमेरिकाको ब्याजदर २३ वर्ष यताकै उच्च विन्दुमा छ । केन्द्रीय बैंकले मुद्रास्फीति दर घट्ने सम्भावना नदेखेपछि ब्याजदर स्थिर राखेको हो ।
अमेरिकाले गतवर्ष जुलाई महिनामा ब्याजदर पाँच दशमलप २५ प्रतिशतबाट बढाएर पाँच दशमलव ५० प्रतिशत पुर्याएको थियो । त्यसयता फेडले ब्याजदर स्थिर राखेको हो । केन्द्रीय बैंकले ब्याजदर अझै केही महिना उच्च विन्दुमा स्थिर रहन सक्ने संकेत पनि गरेको छ ।
यसअघि मुद्रास्फीति घट्दै जाँदा ब्याजदर पनि उच्च विन्दुबाट घट्न सक्ने अनुमान गरिएको थियो । तर मुद्रास्फीति दर बढ्न थालेपछि केन्द्रीय बैंकले ब्याजदर नघटाउने निर्णय गरेको हो ।
फेडले मुद्रास्फीति दर दुई प्रतिशतभित्र राख्ने लक्ष्य राखेको थियो । तर त्यसमा कुनै प्रगति हुन सकिरहेको छैन । मार्च महिनामा अमेरिकाको मुद्रास्फीति दर दुई दशमलव ७० प्रतिशत छ ।