काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आह्वान गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्न प्रस्ताव गरेको हो ।
रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुले यही वैशाख २४ गते सोमबारसम्म आफ्नो संस्थाले निक्षेप लिन चाहेको रकम र दिन चाहेको ब्याज तोकेर प्रस्ताव पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार यसरी राखिने रकमको अवधि तीन सय ६६ दिन अर्थात् २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म छ ।
लगानीको लागि छुट्याएको रकममध्ये वाणिज्य बैंकहरुको लागि १९ करोड २० लाख रुपैयाँ, विकास बैंकहरुको लागि तीन करोड ६० लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुको लागि एक करोड २० लाख रुपैयाँ छ । रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ । यीबाहेक तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात केन्द्रीय बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा व्यवस्थापछिकोमा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधान तोकिएका छन् ।