काठमाडौं । बारामा औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण पिलुवा बारा र जितपुर सिमरानगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा दुई दिवसीय औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको प्रमुख आतिथ्यमा सञ्चालन भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीलगायत विभिन्न उद्योग वाणिज्य संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले सम्भावित जोखिम मूल्याङ्कन गरी समयमै आवश्यक तयारी गर्न सकिएमा मात्र ठूला विपद्बाट जोगिन सकिने बताए । विपद् जोखिम न्यूनीकरणका लागि उद्योगमा आबद्ध कर्मचारीहरूलाई समेत औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण तालिम दिन सकिने उनको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले आगामी दिनहरूमा मधेश प्रदेशका अन्य जिल्लाहरूमा समेत सशस्त्र प्रहरी बल, नेपालसँग आवश्यक समन्वय गरी यस्ता प्रकृतिका तालिमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा औद्योगिक क्षेत्रमा हुन सक्ने सम्भावित विपद्जन्य घटनाहरूको पहिचान गरी त्यसको नियन्त्रण र प्रतिकार्यको लागि पूर्वतयारी कसरी गर्ने भन्ने विषयहरूमा समेत जानकारी गराइएको थियो । शुक्रबार र शनिबार दुई सञ्चालन भएको कार्यक्रममा सुरक्षाका सिद्धान्त र उद्योग परिसरभित्र कृत्रिम विपद् सिर्जना गराई त्यसको व्यवस्थापन गर्ने विधि तथा उपायहरूको बारेमा जानकारी गराइएको थियो ।