सुबास बस्नेत
दोलखा, जेठ ३०
दुग्ध विकास संस्थानद्वारा सञ्चालित दोलखा डेरीमा जिल्ला अनुगमन समिति दोलखाले बिहीबार छापा मारेको छ । अनुगमन समितिले छापा मार्ने क्रममा एकमहिनादेखि उत्पादन मिति र मूल्य उल्लेख नगरीकन नै दुग्धजन्य उत्पादन बिक्री गरेको पाइएपछि भीमेश्वर नगरपालिका–२, चोथाङस्थित उद्योग बन्द गर्न निर्देशन दिएको छ । सदरमुकाम चरीकोटमा बिहीबार दुई वटा उद्योग र पाँचवटा पसल गरी ७ वटामा अनुगमन तथा छापा मार्दा दोलखा डेरीले उत्पादन मिति, मूल्य र कम परिमाणको प्याकेट भेटिए पछि उद्योग बन्द गरिएको घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख सुजितकुमार झाले जानकारी दिए ।
प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ अनुसार पुर्जी काटेर उद्योग बन्द गरी कागजातसहित उपस्थित हुन निर्देशन दिइएको प्रमुख झाले जानकारी दिए । दोलखा डेरीले एक महिनादेखि उत्पादन र म्याद नाघ्ने मिति नराखेको, मूल्य उल्लेख नगरेको र आधा लिटर उल्लेख दूध दहीमा १० देखि २५ मिलिलिटर कम परिमाण भेटिएको अनुगमन समितिले जनाएको छ ।
दोलखा डेरीलाई प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ को दफा ६१ को जरिवानासम्बन्धी व्यवस्थाको उपदफा ३ अनुसार ५० हजारदेखि ७५ हजारसम्म जरिवाना गरिने कार्यालय प्रमुख झाले जानकारी दिए । दोलखा डेरीका लेखा प्रमुख प्रदीप शिवाकोटीले मेशिन बिग्रिएकोले विवरणहरु उल्लेख नगरी बिक्री गरेको बताए ।
अनुगमन समितिले भीमेश्वर नगरपालिका–३, चरिघ्याङस्थित माँ पलाञ्चोक बेकरी उद्योगमा समेत छापा मारेको थियो । छापाको क्रममा सो बेकरी उद्योगबाट ३ महिनादेखि म्याद नाघेको मैदाको पिठोबाट पाउरोटीलगायतका खाद्य सामग्री बनाएको पाइएपछि गोदाममा रहेको ५८ बोरा मैदाको पीठो जफत गरी सिल गरिएको प्रमुख झाले जानकारी दिए । चरिकोटका फलफुल पसलमा अनुगमन गर्दा प्रतिकेस ७ सय रुपैयाँमा किनेर १४ सय रुपैयाँमा विक्री गरेका भेटिएपछि स्पष्टीकरण सहित जरीवानाको लागि कार्यालयमा हाजिर हुन निर्देशन दिइएको झाले जानकारी दिए ।