विराटनगर । मोरङ उद्योग व्यापार संघको ३४औँ कार्यकारिणी समिति गठनका लागि सोमबार सम्पन्न निर्वाचनमा सबै कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले १६ जना कार्यकारिणी सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । यस्तै, सोमबार नै नवनिर्वाचित सदस्यहरूलाई पदभार ग्रहण समेत गराइएको छ । संघको विधानअनुसार नयाँ कार्यकारिणी समिति गठनका लागि उद्योग क्षेत्रबाट आठ जना र वाणिज्य क्षेत्रबाट आठ जना कार्यकारिणी समिति चयन गरिएको हो । अब १६ जना मध्येबाट नै नयाँ समितिको पदाधिकारी चयन हुुनेछ । संघको कार्यकारिणी सदस्यमा उद्योग क्षेत्रबाट देवाशीष गोल्छा, विनित सिंघानिया, अमितकुमार सारडा, अनुपम राठी, अमित राठी, आशीष जाजु, पवन राठी र विकास कुमार बेगवानी चयन भएका छन् ।