अमेरिका, जेठ ३०
विद्युतीय कारनिर्माता टेस्ला छोटो समयका लागि भए पनि संसारकै धेरै मूल्यवान् कार कम्पनी बनेको छ । बुधबार कम्पनीको सेयर अहिलेसम्मकै उच्च वृद्धिपछि जापानी चर्चित कार निर्माता टोयोटालाई पछि पारेको हो । टेस्ला चर्चित अर्बपति एलन मस्कको कम्पनी हो । कम्पनीको सेयर ७.६ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार डलर नाघेपछि १ दिनभित्रै १ खर्ब ८९ अर्ब डलरको बजार पुँजीकरण भएको हो । गत केही महिनायता कम्पनीको सेयर उकालो लागिरहेको थियो।
तर बुधबारको सेयर मूल्यवृद्धिपछि टोयोटा पनि पछि परेको हो । छोटै समयको लागि भए पनि टेस्लाले टोयोटालाई उछिन्न सफल भएको हो । टोयोटाको बुधबारको बजार पुँजीकरण १ खर्ब ८२ अर्ब डलरको थियो । बुधबारको अप्रत्याशित अवस्थाले टोयोटालाई नम्बर १ कारमेकरबाट टेस्लाले पछि पार्न लामो समय कुर्नु नपर्ने देखिएको छ । अझ तीतो सत्य त १० वर्षअघि टोयोटाले टेस्लामा ५ करोड डलर लगानी समेत गरेको थियो । पछि उसले आफ्नो सेयर बेचेर नाफा आर्जन गरेको थियो ।