काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबीच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरूलाई सरल र सहजरूपमा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकले पालिकाभित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरवासीहरूलाई सरल र सहजरूपमा कर्जा प्रवाह गर्नेछ । उक्त कर्जाले नगरपालिकाभित्र उद्यमशीलतामार्फत आत्मनिर्भर र स्वरोजगार प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ७९ एटीएम, दुई सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।