ढाका, जेठ ३०
दक्षिण एसियाली देश बंगलादेशले आगामी आर्थिक वर्ष २०२०/०२१ को लागि ५६ खर्ब ८० अर्ब टाका (बंगलादेशी मुद्रा)को बजेट ल्याएको छ । अर्थमन्त्री एएचएम मुस्ताफा कमलले बिहीबार ८.२ प्रतिशत आर्थिक वृद्धिदरको महत्वाकांक्षी लक्ष्यसहित उक्त परिमाणको बजेट बंगलादेश्ी संसदमा पेस गरेका हुन् । विश्व अहिले कोरोना महामारीको चपेटामा रहे पनि अर्को वर्ष ठूलो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट घोषणा गरिएको हो । सार्वजनिक गरिएको बजेट देशको कुल गार्हस्थ्य उत्पादनको १७.९ प्रतिशत भएको बंगलादेशी मिडियाले जनाएका छन् । अर्थमन्त्री कमलले आर्थिक रुपान्तरण र प्रगतिको बाटोको रुपमा बजेट विनियोजन गरिएको बताए ।
आगामी आवको लागि चालू खर्चतर्फ ३६ खर्ब २८ अर्ब टाका र वार्षिक विकास खर्चतर्फ २० खर्ब ५१ अर्ब टाका विनियोजन गरिएको छ । स्वास्थ्य, कृषि र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखिएको कमलले बताए । नयाँ आवमा १९ खर्ब टाका बजेट घाटा हुने अनुमान गरेको उनले बताए । जुन जीडीपीको कुल ६ प्रतिशत हो । गत वर्ष ५ प्रतिशत बजेट घाटा भएको बताउँदै उनले बजेटमा कुल घाटामध्ये ८ खर्ब टाका बाह्य स्रोतबाट र बैंकिङ क्षेत्रबाट आन्तरिक स्रोतबाट ८ खर्ब ४९ अर्ब टाका बैंकिङ क्षेत्रबाट र गैरबैंकिङ क्षेत्रबाट २ खर्ब ५० अर्ब पूर्ति गर्ने बताए । त्यस्तै, नयाँ आवको लागि ३७ खर्ब ८० अर्ब टाकाको राजस्व संकलन लक्ष्य राखिएको छ । त्यस्तै ३ खर्ब ३० अर्ब गैरकर राजस्व र बाँकी अन्य कर राजस्व संकलनको लक्ष्य राखिएको बताइएको छ ।