काठमाडौँ । नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव, २०८१ को बुधबार काठमाडौँमा उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् ।
मुलुकको अर्थतन्त्रको मूल जग नै साना घरेलु उद्योग भएको राष्ट्रपति पौडेलले प्रस्ट पारे । उनले भन्नुभयो, “घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर यस क्षेत्रमा विद्यमान पूँजी, कच्चापदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण, दक्ष जनशक्तिलगायत समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरी अघि बढ्नुपर्छ ।”
राष्ट्रिपति पौडेलले घरेलु उद्योगले स्थानीय श्रम, सीप, प्रविधि, कच्चापदार्थ, जनशक्तिको प्रयोग गरी थोरै लगानीमा उद्योगबाट उत्पादन र उत्पादकत्व बढाउनसक्ने बताए । स्थानीयस्तरमा आत्मनिर्भर बढाउनाका साथै अन्तर्राष्ट्रिस्तरमा श्रम र संस्कृतिको पहुँच विस्तार हुने उनको भनाइ थियो ।
राज्यले सुहलियतपूर्ण कर्जाको व्यवस्था तथा सना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले पूँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगी मारमा परेको बताए । देशमै उत्पादित वस्तुको प्रवर्द्धन गरी उद्योगको विकास गर्न केन्द्र तथा प्रदेशमा निर्यात गृह खोल्ने व्यवस्था मिलाउन तत्काल आवश्यक रहेको उनले बताए ।
महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठुलो सङ्ख्यामा स्वरोजगारी सिर्जना गरेकाले यसको प्रवर्द्धनमा विशेष कार्यक्रम ल्याउन राष्ट्रपति पौडेलले सरकारको ध्यानाकर्षण गराए । यसका लागि महिला र युवालाई सहुलियत कर प्रदान गर्ने, बिक्री कक्ष स्थापना गर्ने, स्वदेशी वस्तु बिक्री बजारको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।