मदनरात भट्ट डडेल्धुरा, जेठ ३० वर्षौंदेखि डडेल्धुराको महाभारत वन क्षेत्रलाई संरक्षित वन क्षेत्र बनाउन लाखौं खर्च गरिसकेको डिभिजन वन कार्यालय डडेल्धुराले सरोकारवालाहरूको आँखा छल्दै आरक्ष बनाउने तयारी थालेको छ । महाभारत वनक्षेत्रलाई वन ऐनअनुसार संरक्षित क्षेत्र घोषणा गर्न २०६८ सालमा कार्ययोजना स्वीकृत गरिसकेको र २०७१ साल असार २५ गते राजपत्रमा सूचना प्रकाशित गर्न वन विभागले सिफारिस गरिसकेको छ । २०७१ सालमै महाभारत संरक्षण परिषद्को तदर्थ समिति गठन गरिएकोमा हाल सो समिति निष्क्रिय छ । जनचेतनामूलक कार्यक्रमका नाममा गोष्ठी र अन्तरक्रिया गर्न वर्षेनी लाखौं रकम खर्च गरिरहेको डिभिजन वन कार्यालय डडेल्धुराले पछिल्लो समयमा सबै सरोकारवालाहरूको आँखा छलेर महाभारत वन क्षेत्रलाई आरक्षका रूपमा विकास गर्न भित्रभित्रै लविङ गरिरहेको छ । महाभारत संरक्षित वन क्षेत्रका नाममा वन कार्यलयले वर्षेनी लाखौं रकम खर्च गरिरहेको छ । गत आर्थिक वर्षमा महाभारत वन संरक्षणका नाममा तीन लाख बजेट विनियोजन भएको थियो । वन कार्यालयले उक्त रकम जिल्लाकै प्रतिष्ठित रातो गुरास रिसोर्टमा गोष्ठी सम्पन्न गरेर सकाएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । चालू आर्थिक वर्षमा समेत १० लाख विनियोजित बजेटमध्ये सब डिभिजनस्तरीय गोष्ठी र जिल्लास्तरीय गोष्ठीका साथै प्रचारप्रसार सामग्री निर्माणमा खर्च भइसकेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । २०६८ सालदेखि हालसम्म २४ लाख २० हजार रूपैयाँ महाभारत वन संरक्षणका लागि खर्च भइसकेको उनको भनाइ छ ।