काठमाडौं, जेठ ३०
मुक्तिनाथ विकास बैंकले मृतक ऋणी ग्राहकहरूको ऋण मिनाहा गरेको छ । बैंकले साना तथा लघु बैंकिङ विभागअन्तर्गत आफ्नो बैंकमा नियमितरूपमा कारोबार गर्दै आएका ग्राहक सदस्यहरूलाई लगानी गरेको कर्जा रकम ग्राहकहरूले कर्जा सञ्चालन गरिरहँदा सदस्यको मृत्यु तथा संरक्षकको मृत्यु र सदस्यको परियोजनामा आगलागी भई क्षति भएको हुँदा छुट्टाछुट्टै कार्यालयहरूबाट ग्राहक सदस्यहरूको कर्जा मिनाहा, काजकिरिया खर्च तथा आगलागी राहत वितरण गरेको जानकारी दिएको छ ।
बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएकी कैलीदमिनी र महाराजगञ्ज, काठमाडौँंबाट लघु कर्जा लिएकी कान्छी महर्जनको असमायिक निधन भएको हँुदा निजले उपभोग गर्दै आएको कर्जाको साँवा र ब्याज तथा काजकिरिया रकम क्रमशः एक लाख आठ हजार सात सय १७ रूपैयाँ र एक लाख १४ हजार ८० रूपैयाँ मृतककै घरमा गई प्रदान गरिएको जनाएको छ ।
यसैगरी, बैंकको ग्राहक सदस्य धुनिबेँसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी मैया बानियाको श्रीमानको असमायिक मृत्यु भएको हुँदा काजकिरिया खर्चबापत पाँच हजार रूपैयाँ प्रतिसदस्य राहत प्रदान गरिएको बैंकले जनाएको छ । यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले सञ्चालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुँदा निज सदस्यको परियोजनाको स्थलगत निरीक्षण गरी राहत स्वरूप पाँच हजार रूपैयाँ रकम वितरण गरेको जानकारी पनि बैंकले दिएको छ ।
यसरी विभिन्न शाखा कार्यालयहरूवाट कुल जम्मा दुुई लाख २७ हजार सात सय ९७ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए । विषम परिस्थितिको यो समयमा पभन बैंकका कर्मचारीहरू सामाजिक तथा भौतिक दूरी कायम गर्दै ग्राहकहरूलाई स्थलगतरूपमा नै उपस्थित भई कर्जा मिनाहा तथा राहत वितरण गरेको जानकारी गुरुङले दिएका छन् ।