काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका तीन विशिष्ठ व्यक्तित्वलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सङ्घ (एक्यान) को बिहीबार आयोजित राष्ट्रिय सम्मेलनका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतलाई सम्मान प्रदान गरेका हुन् ।
नेपालको केन्द्रीय बैंकको गभर्नरका रुपमा रहेर मुलुकको अर्थतन्त्रका क्षेत्रमा पुर्याएको योगदान वापत गभर्नर अधिकारीलाई सम्मान गरिएको हो । साथै महासङ्घका अध्यक्ष ढकालले सानो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरी मुलुकको सबैभन्दा ठूलो करदातासम्म पुगी देशमा उद्यमशीलताको विकासमा योगदान पुर्याएको तथा डा. रुइतले नेपालको चिकित्सा क्षेत्र विशेषगरी आँखा उपचारका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप सो सम्मान प्रदान गरिएको एक्यानले जनाएको छ ।
उक्त सम्मेलनमा मुलुकको समृद्धि र आर्थिक विकासका विषयमा छलफल एवं बहसको पनि आयोजना गरिएको छ । सो बहसमा नेपालका अर्थशास्त्री, उद्योगी, बैंकर्स र विभिन्न क्षेत्रका नीति निर्मातालगायतको सहभागिता छ ।