केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा सिकिस्त बिरामी भएकी रिता सिंहसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सीआईबी प्रमुख श्यामलाल ज्ञवालीका अनुसार बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित पूर्वपदाधिकारीहरू तुलसीनारायण सिंह, गणेशभक्त श्रेष्ठ, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदासलगायतलाई पक्राउ पुर्जी जारी गरेको हो ।
बृहस्पति विद्यासदनका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघनिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेसहितका अभियुक्तहरूउपर पनि पक्राउ पुर्जी जारी भएको सीआईबी प्रमुख ज्ञवालीले जानकारी दिए । पक्राउ पुर्जी जारी भएकामध्ये संघाई, सिंघनिया र केडिया विशाल व्यावसायिक समूह विशाल ग्रुपसँग सम्बन्धित भएको र यही समूहले बालमन्दिरसँग जग्गा भाडामा लिएर बृहस्पति विद्यासदन चलाएको सीआईबीले जानकारी दिएको छ । ‘जहाँसम्म सिकिस्त बिरामी भएकी भनिएकी अभियुक्त रिता सिंहको कुरा छ, उहाँ सिकिस्त बिरामी भएको जानकारी मैले पनि पाएको छु, अफिसियलरूपमा जानकारी त आएको छ, सीआईबीले मानवीय भावना राखेर राखेर काम गरिहाल्छ, यसमा त्यस्तो कैही छैन’ सीआईबी प्रमुख ज्ञवालीले भने ।
बालमन्दिरको जग्गा भाडासम्बन्धी विवाद लामो समयदेखि चल्दै आएको भए पनि बालमन्दिरको तर्फबाट यही वैशाख २७ गते बिहीबार जाहेरी दर्ता भएपछि सीआईबीले सोही दिन अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । विसं २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात् बालमन्दिरका नाममा एक सय १९ रोपनी १२ आना तीन पैसा जग्गा राखेको थियो । सोमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेको र त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीहरूको मिलेमतोमा मन्दिरको २९ रोपनी चार आना जग्गा निजी विद्यालय बृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो मूल्यमा लिजमा दिएपछि विवाद बढेको थियो ।
गैरकानुनी रूपमा बालमन्दिरको जग्गा उपभोग गर्दै आएका समूहहरूलाई कारबाही गर्नुपर्ने माग भने स्वयं बालमन्दिरका सदस्यले राख्दै आएका थिए । विनाप्रतिस्पर्धा, न्यून रकममा जग्गा उपभोग तथा भाडामा लगाउँदै आएको समूहलाई कारबाही गर्नुपर्ने अडान उनीहरूको रहेको थियो । उनीहरूले एउटा निश्चित समूहलाई नियमविपरीत जग्गा उपभोग गर्न दिनु गैरकानुनी भएको बताउँदै त्यसमा सरकारले आवश्यक कारबाही अगाडि बढाउनुपर्ने बताउँदै आएकोमा सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाउने भएपछि राहत हुने देखिन्छ । उच्च अदालतका पूर्वन्यायाधीश हरि भट्टराई नेतृत्वको छानबिन आयोगले जग्गा लिजमा दिँदा अनियमितता भएको ठहर गरेको थियो भने अख्तियार दुरूपयोग अनुसन्धान अयोगले पनि छानबिन गर्न चासो देखाएको थियो । तर, अख्तियारले हालसम्म छानबिन प्रक्रिया अघि बढाउन सकेको छैन ।
बालमन्दिर परिसरमा सञ्चालन भएको बृहस्पति विद्या सदनका सयेरधनीमा पुरुषोत्तमराज जोशी, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, अनुज अग्रवाल, श्रद्धा संघई, अर्पित अग्रवाल, ग्रीन फिल्ड इंक प्रालि, श्यामसुन्दर कंडेल, समीर थापा, महेशकुमार सिंघानिया, सञ्जयकुमार मोर, सञ्जय अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल छन् । जसमा पुरुषोत्तमको २५ लाख ८० हजार रुपैयाँ, प्रवीणराज जोशीको एक करोड ८७ लाख १० हजार रुपैयाँ, प्रज्वलराज जोशीको एक करोड ३१ लाख १० हजार रुपैयाँ, अनुज अग्रवालको तीन करोड ६१ लाख १२ हजार पाँच सय रुपैयाँ, श्रद्धा संघईको दुई करोड ५७ लाख ९२ हजार पाँच सय रुपैयाँ, अर्पित अग्रवालको एक करोड १२ लाख १० हजार रुपैयाँ, ग्रीन फिल्ड इंक प्रालिको ५० लाख १० हजार रुपैयाँ, श्यामसुन्दर कंडेलको ६४ लाख ६५ हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ, महेशकुमार सिघांनियाको ४२ लाख ३० हजार छ सय रुपैयाँ, सञ्जयकुमार मोरको सात लाख चार हजार दुई सय रुपैयाँ, सञ्जय अग्रवालको सात लाख चार हजार दुई सय रुपैयाँ, विशाल अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँ र निकुञ्ज अग्रवालको दुई करोड ३६ लाख ७५ हजार रुपैयाँबराबरको सेयर लगानी छ ।
बालमन्दिर परिसरभित्र रहेको अर्को विद्यालय राइ स्कुलका सेयरधनीमा श्रद्धा संघाई, अनुज अग्रवाल, विशाल अग्रवाल, निकुञ्ज अग्रवाल, ग्रीन फिल्ड इंक प्रालि, प्रवीणराज जोशी, प्रज्वलराज जोशी, एस इन्ष्टिच्युट अफ मेनेजमेन्ट, समीर थापा र अर्पित अग्रवाल छन् । यास विद्यालयमा श्रद्धा संघाईको ७५ लाख ५५ हजार एक सय रुपैयाँ, अनुज अग्रवालको ५० लाख ३६ हजार दुई सय रुपैयाँ, विशाल अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, निकुञ्ज अग्रवालको ३३ लाख ६० हजार छ सय रुपैयाँ, ग्रीन फिल्ड इंक प्रालिको १० हजार रुपैयाँ, प्रवीणराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, प्रज्वलराज जोशीको २७ लाख ५० हजार रुपैयाँ, एस इन्ष्टिच्युट अफ मेनेजमेन्टको नौ लाख ८० हजार रुपैयाँ, समीर थापाको १० हजार रुपैयाँ र अर्पित अग्रवालाको १६ लाख ८७ हजार पाँच सय रुपैयाँबराबरको सेयर लगानी छ । २०५८ जेठ ८ गते बाल संगठनको जग्गा बृहस्पतिलाई भाडामा दिने सम्झौता गरिएकोमा जग्गा प्रयोगको अवधि भने ३० वर्ष कायम गरिएको छ ।