विराटनगर, जेठ ३२
लकडाउन केही खुकुलो भएको मौका पारी सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले तोरीको तेलमा एक्कासी मूल्यवृद्धि गरेका छन् । मूल्यवृद्धिको मुख्य योजनाकारमा विराटनगरको चन्द्रशिव राइस मिलका सञ्चालक रहेको कुरा उद्योगी तथा व्यवसायीले नै बताएका छन् ।
मूल्यवृद्धिको षड्यन्त्रलाई प्रमाणित गर्नका लागि मिल्स सञ्चालकले अहिले झूटो प्रचारबाजी समेत गर्दै गरेको रहस्य औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले खोल्न थालेका छन् । चन्द्रशिव राइस मिलका सञ्चालकले लकडाउनका कारण भारतबाट आयत हुने तोरीदानामा १० रूपैयाँ प्रतिकेजीले मूल्य वृद्धि भएको बहाना बनाएर मूल्यवृद्धि गरेको उद्योगी तथा व्यवसायीले जानकारी दिएका छन् । तोरी पेलेर बाँकी रहने पिनाकोे मूल्य भने ५ रूपैयाँ प्रतिकेजीले घटेको छ । लकडाउनको मौक्का छोपी उद्योगीले प्रतिकार्टुन १८ सय १० को तोरी तेललाई १९ सय ४० मूल्य कायम गरेका छन् ।
एक महिनादेखि कृत्रिम अभाव देखाएर तेलको मूल्यवृद्धि गरिएको स्थानीयको आरोप छ । स्रोतका अनुसार अहिले भारतमा तोरीको दानाको मूल्य न त बढेको छ न त पिनाको मूल्य नै घटेको छ । तोरीको दाना र पिनामा घाटा देखाएर अहिले उद्योगीहरूले तोरीको प्रतिकार्टुन एक सय ३० रूपैयाँ वृद्धि गरेका हुन् । व्यवसायी स्रोतका अनुसार तोरीको दाना विदेशबाट आउने सामान हो, जो कोहीले यसको यकिन मूल्य पत्ता लगाउन सक्दैन केन्द्र सरकार आफैँले चनाखो हुन जरुरी छ । लकडाउनको अवधिमा भएको तोरीको तेलको कृृत्रिम मूल्यवृद्धिलाई वैधानिकत्ता दिनका लागि पछिल्लो समय तोरीको तेल उत्पादकहरूको समूह नै सक्रिय भएको जानकारहरूले बताएका छन् । उक्त समुहले अहिले देशभरिकै तेल उद्योगीहरूलाई तोरीको तेलमा मूल्यवृद्धि गर्न समेत प्रोत्साहित गरी रहेको कुरा स्रोतले दाबी समेत गरेका छन् ।
नेपालको पूर्व क्षेत्रमा घैला ब्राण्डको तोरी तेलको उत्पादन गर्दै आएको चन्द्रशिव राइस मिलले तेल उत्पादनको लागि २६ कनटेनर तोरीको दाना भारत हुँदै तेस्रो मुलुकबाट आयात गरिसकेको उद्योगीले बताएका छन् । हाल ती कनटेनरहरू नेपाल आउनका लागि भातरको कोलकात्ता बन्दरगाहमा रहेको कुरा उद्योगीहरूले नै जानकारी दिएका छन् । अब भारतबाट ती कन्टेनरहरू आउनासाथ आफूले एक महिनादेखि गरेको तोरी तेलको मूल्यवृद्धिले वैधानिकता पाउने योजनामा चन्द्रशिव राइस मिलका सञ्चालक रहेको दाबी पनि समाचारस्रोतले गरेका छन् । तेस्रो मुलुकबाट आयात हुने उक्त २६ कनटेनर तोरी कोलकत्ताबाट नेपाल आइपुगेपछि करिब डेढ करोड रूपैयाँ अतिरिक्त कमाउने योजनामा चन्द्रशिव राइस मिलका सञ्चालक एवं उद्योगी आफैँ लागेको कुरा समाचारस्रोतले बताएका छन् ।