काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा अवधिमा १०८२ अर्व भद्या बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको चैत महिनासम्म १०८२ अर्ब ६२ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको हो ।
यो गत वर्षको सोही अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल आउने रेमिट्यान्समा २४.२ प्रतिशतले वृद्धि भएको थियो । यो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख २९ हजार चास सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार सात सय २१ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख ८७ हजार आठ सय ३९ र २ लाख १७ हजार नौ सय ५९ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई रु.११७४ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.८ प्रतिशतले बढेको थियो ।