काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा विदेशी मुद्राको सञ्चितिमा २४ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म कुल विदेशी विनिमयको सञ्चिति १९११ अर्ब ८६ करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा २४.द्द प्रतिशतले बढी हो ।
२०८० असार मसान्तमा १५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । यस्तो सञ्चिति २०८० चैत मसान्तमा १९११ अर्ब ८६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई १६८८ अर्ब २१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्घि भई २२३ अर्ब ६५ करोड कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०८०÷८१ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।