काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको क्रममा गैरकानुनी तवरबाट सरकारी रकमको दुरुपयोग गरेको आरोपमा छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियारले सुरक्षण मुद्रण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको क्रममा भ्रष्टाचार गरेको आरोपमा केन्द्रका तत्कालीन निर्देशक विकाल पौडेलसहित केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, तत्कालीन सीडीई (मेकानिकल) नविनकुमार पोखरेल, लेखा अधिकृत खड्कबहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरेविरुद्ध र विदेशी एजेन्ट अकबर हुसेनविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले सुरक्षण मुद्रण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदका नाममा ४० करोड ८५ लाख ७४ हजार सात सय ४० रुपैयाँ सरकारी सम्पत्तिको हानीनोक्सानी गरेको गरेको भन्दै अख्तियारले अदालतसमक्ष आरोपपत्र दायर गरेको छ ।
अख्तियारले निर्देशक पौडेल, निर्देशक श्रेष्ठ र सीडीई पोखरेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिमको कसुर गरेको भन्दै ४० करोड ८५ लाख ७४ हजार सात सय ४० रुपैयाँ बिगो माग गरेको छ । त्यस्तै उनीहरूलाई भ्रष्टाचार निवारण ऐन दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिबाना समेत मागदाबी गरेको छ । उक्त मागदाबीअनुरूप दुई वर्षसम्म कैद वा जरिबाना वा दुवै सजाय माग गरिएको छ । निर्देशक पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय समेत माग गरिएको छ । सोअनुरूप पौडेललाई तीन वर्षसम्म कैद सजाय माग गरिएको हो ।
त्यस्तै अख्तियारले अधिकृत खड्का र अधिकृत घिमिरेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिमको कसुर गरेको भन्दै ४० करोड ८५ लाख ७४ हजार सात ४० रुपैयाँ बिगो मागदाबी गरेको छ । अख्तियारले म्याक्स इन्टरनेसनल तथा उक्त कम्पनीको कार्यकारी प्रमुख अधिकृत (सीईओ) अकबर हुसेनले भ्र्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ बमोजिमको कसुर गरेको भन्दै ४० करोड ८५ लाख ७४ हजार सात सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ । साथै अख्तियारले सीईओ हुसेनलाई बिगोको साथै कैद सजाय समेत माग गरेको छ । उनीहरूले सामग्री खरिदको क्रममा आपसी मिलेमतो तथा योजनामा सार्वजनिक खरिद ऐन, २०६३ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ विपरीत खरिदबिक्रीको काम गरेको अरोप रहेको छ । सुरक्षण मुद्रण प्रेस तथा यसका सामग्री खरिद कार्यमा खरिदका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्तिविशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ्य प्रतिस्पर्धा नुहुने गरी सरकारको सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेका उजुरीमा अख्तियारले अनुसन्धान गर्दा आवश्यक नै नभएको २० गुण बढी क्षमताको मेसिन खरिद र प्रणाली खरिद गरी प्रयोगमा ल्याउन समेत नसकेको पाएको थियो ।