काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारका नाममा ठगी गर्ने चार जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर बस्तीपुर १९ घर भई हाल काठमाडौं आरुबारी बस्ने ३० वर्षीय निमा रिञ्जिन, ललितपुर महानगरपालिका–९ इमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, सोही ठाउँकी ५६ वर्षीया कल्पना बज्राचार्य तथा रामेछाप मन्थली नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं गोकर्णेश्वर–५ जोरपाटी बस्ने ३४ वर्षीया चन्द्रमाया थापा छन् । उनीहरूले विभिन्न देशमा पठाइदिने भनी ७३ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकाहरुमध्ये रिञ्जिनले निराजन केसीलगायत १० जनालाई बेलायत पठाइदिने भन्दै ५६ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए । त्यसैगरी प्रकाश बज्राचार्य एवं कल्पना बज्राचार्यले नरेश महर्जनलगायत दुई जनालाई क्यानडा पठाइ दिने भन्दै १५ लाख रुपैयाँ तथा चन्द्रमाया थापा कार्कीले राकेश ओझालाई स्पेन पठाइ दिने भन्दै दुई लाख रुपैयाँ ठगी गरेको प्रवक्ता रेग्मीले जानकारी दिए । पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । आरोपितहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।