काठमाडौं, जेठ ३२
नेपालको पूर्वी क्षेत्रको रिफरल केन्द्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक उच्च क्षमताको २ सय ५६ स्लाइस सिटिस्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयद्वारा रकमान्तर गरिएको २० करोड बजेटले प्रतिष्ठानले अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटिस्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको हो ।
अस्पतालमा सिटिस्क्यान मेसिन नहुँदा बिरामीहरु चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा धाउन बाध्य रहेका थिए । निजी अस्पतालहरुमा सिटी स्क्यान गरेको ८ हजारदेखि १८ हजार रुपैयाँसम्म तिर्नुपर्छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै यो सेवा अत्याधुनिक उपकरणबाट पुनः सुरु भए बिरामीले निजी अस्पतालभन्दा प्रतिष्ठानमा आधा मूल्य कममै सेवा पाउनेछन् । प्रतिष्ठानले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई अझ बढी प्रविधिमैत्री, सर्वसुलभ र नमुना अस्पताल बनाउने उद्देश्यका लागि अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटिस्क्यान मेसिन खरिद गर्ने प्रक्रिया पहिलो पाईला रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताए ।
अस्पतालको सेवा लिनआएका विरामी कुनै पनि सेवावाट वञ्चित हुन नपरोस् भन्ने आफ्नो चाहनाअनुरुप छिट्टै एमआरआई मेसिन, लगायत विभिन्न अत्याधुनिक उपकरण खरिद, सेवा विस्तार, ट्रमा सेन्टर, हृदय रोग केन्द्र, प्रत्यारोपण केन्द्र स्थापनालगायतका आफ्ना योजना रहेको उनले बताए । हाल अस्पतालमा रहेको बेड संख्यालाई आगामी ३ बर्षमा दुई हजार सैया बनाई नेपालकै सबैभन्दा ठुलो अस्पतालका साथै काठमाडौँमा उपलब्ध सम्पूर्ण सेवा मोफसलको धरानबाट नै जनताले पाउने सुनिश्चितता गर्न आफु लाग्ने उनको भनाइ छ । बढी स्लाइसको सिटिस्क्यानबाट निदान गर्दा छिटो हुने, ‘रेडिएसन एक्पोजर कम’ हुने र अर्कोतिर यसले स्पष्ट आकृति र तुलनात्मक रुपमा धेरै संख्यामा सेवा दिन सक्ने प्रतिष्ठानको रेडियोलोजी विभागका प्रमुख डा. मुकेश गुप्ताले जानकारी दिए ।
डा. गुप्ताका अनुसार नयाँ सिटी स्क्यान मेसिन बिरामीको नशा ‘एन्जिओग्राम’का लागिसमेत उपयोगी र प्रभावकारी हुने र हालसम्म प्रतिष्ठानमा भएका सिटी स्क्यानको तुलनामा यो निकै अत्याधुनिक रहेकाले मतिष्कघात लगायत मतिष्कभित्रका अन्य चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुने बताए । यसअघि अस्पतालमा १६ स्लाइसको मेसिन उपलब्ध भए पनि बारम्बार बिग्रिएका कारण सेवा अवरुद्ध रहेको अवस्थामा अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रिया सुरु भएको हो ।