काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरुबाट चार करोड भन्दा बढी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । एक सय २४ जनाबाट चार करोड भन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले कास्कीको पोखराका विनोद श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठले एक सय २४ जनालाई टर्कीमा राम्रो आम्दानी हुने काममा लगाइदिने भन्दै ठगेको प्रहरीको भनाइ छ । श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । युएन मिसनको कार्यालयमा मासिक एक हजार चार सय ५० डलर कमाइ हुने आश्वासन दिएर ठगि गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । श्रेष्ठले चुच्चेपाटीको जमघट रेष्टुरेन्टमा विदेश जान तयार भएकाहरूलाई भेट्ने गरेको र सुरुमा उनीहरुबाट प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार विनोदले टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने भनेका थिए । त्यहाँ गएर आकर्षक तलब पाइने भन्दै प्रलोभनमा परेर १२४ जना टर्की जान तयार भएको प्रहरीको भनाइ छ । अरु व्यक्तिहरुलाई विश्वास दिलाउनका लागि उनले सुरुमा चार जनालाई भारतको राजधानी दिल्ली पुर्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस पछि दिल्लीमा भारतीय एजेन्टमार्फत् थप ३ लाख रुपैयाँ उठाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।
रकम लिएपछि उनीहरूलाई १५ दिनसम्म होटलमै राखेको पाइएको कोही पनि सम्पर्कमा नआएपछि उनीहरू भारतबाट नेपाल फर्किएका थिए । यसरी नै विनोदले १२४ जनाबाट ४ करोड ३४ लाख रुपैयाँ उठाएको पाइएको प्रहरीको भनाइ छ ।
पिडीतलाई श्विास दिलाउन उनले युएनमा रहेका व्यक्तिहरुको नाम पनि लिने गरेका थिए । आफ्नो काम नभए पछि नेपाल फर्किएका पिडीतहरुले केही दिन अघि पत्रकार सम्मेलन गरेर आवश्यक कारबाहीका लागि आग्रह गरेका थिए । श्रेष्ठले पिडितहरुलाई विश्वास दिलाउन प्रत्येकलाई चेक दिने गरेको प्रहरीको भनाइ छ । चेक लिएर बैंकमा जाँदा हस्ताक्षर नमिले पछि पिडितहरु प्रहरीकोमा पुगेका थिए ।
यस विषयमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । विनोद श्रेष्ठलको श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेल विरुद्ध समेत ठगिको मुद्धामा अनुसन्धान भइरहेको छ । उनीहरु विरुद्ध अहिले पनि सीआइबीले ठगी मुद्धामा अनुसन्धान गरिरहेको छ । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् ।