काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रदायक कम्पनी इ–नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गरेर इ–नेट पेमेन्ट प्रालिको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको छ ।
‘भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्नेगरी २०७६ फागुन २१ मा अनुमतिपत्रप्राप्त इ–नेट पेमेन्ट प्रालिले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ (संशोधनसहित)को विनियम ३५ को १(ग)को व्यवस्थाबमोजिम उक्त संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र सूचना प्रकाशन भएको मितिले ३१औँ दिनदेखि लागू हुनेगरी खारेज गरिएको छ’, सूचनामा उल्लेख छ ।
सो कम्पनीले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन÷दायित्व बाँकी रहेको भए सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गरी दाबी गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।