काठमाडौं । म्यानचेस्टर सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले टोटनह्याम विरुद्धको खेल जित्न नसकेको उपाधि नजितिने बताएका छन् । म्यानचेस्टर सिटी र टोटनह्यामबीचको खेलअघि प्रशिक्षक पेप यस्तो बताएका हुन् ।
प्रिमियर लिगमा दुई खेल बाँकी रहँदा डिफेन्डिङ च्याम्पियन सिटीले उपाधि जित्ने निश्चित हुन अधिकतम अंक बटुल्न आवश्यक छ । प्रतिद्वन्द्वी आर्सनलले एक खेल बढी खेलेको छ । लिग लिडर आर्सनलको ३७ खेलबाट ८६ अंक रहेको छ । एक खेल कम खेलेको सिटीको ८५ अंक रहेको छ ।
अंक तालिकाको शीर्ष स्थानमा आर्सनल रहँदा ग्वार्डिओलाले आफ्ना खेलाडीलाई लगातार चौथो पटक उपाधि जित्न मंगलबार हुने टोटनह्यामसँगको खेल गर या मरको स्थितिमा रहेको बताएका छन् । आजको खेलमा सीटी पराजित भएको खण्डमा उनसले अन्तिम खेल जिते पनि उपाधि जित्ने सम्भावन रहने छैन् । यदि आर्सनल पनि अन्तिम खेलमा पराजित भएको खण्डमा भने सीटी आजको पराजयका बाबजुत पनि उपाधि जित्न सक्ने छ ।
‘हामीसँग एउटा मात्र विकल्प छ, खेल जित्ने। हामी त्यसका लागि टोटेनह्याम हटस्पर स्टेडियमको यात्रा गर्छौँ,’ सोमबार आयोजित पत्रकार प्रि–म्याच कन्फ्रेन्समा उनले भने, ‘यदि यो खेल जितेनौँ भने हामीले प्रिमियर लिग जित्न सक्दैनौँ ।’
आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो । मंगलबार टोटेनह्याममाथि जित हासिल गर्न सके सिटीले शीर्ष स्थानमा रहँदै दुई अंकको अग्रता बनाउनेछ । त्यस पछि अन्तिम खेलमा आर्सनल विजयी भए पनि सिटी आफ्नो खेलमा जित निकाल्दै उपाधि रक्षा गर्न सफल हुन सक्छ ।