दोलखा । पछिल्ला वर्षहरूमा जिल्लाको बैतेश्वर गाउँपालिकाका किसानहरू मौरीपालनतर्फ आकर्षित बन्दै गएका छन् । मुख्यगरी पालिकाको वडा नम्बर–१,२,३,४ र ८ मा मौरीपालनमा लाग्ने कृषक वृद्धि हुँदै गएको पाइएको छ । मौरीपालनबाट छोटो समयमै राम्रो आम्दानी लिन सकिने हुँदा स्थानीयहरू मौरीपालन व्यवसायमा आकर्षित बनेको बैतेश्वर गाउँपालिका कृषि प्रविधिक अश्मिन कुँवरले बताए । यस्तै, पालिकाले पनि मौरीपालक कृषक बढेसँगै किसानलाई प्रोत्साहन गर्न अनुदान दिन थालेको छ । चालू आर्थिक वर्षमा पालिकाले किसानहरूलाई एक सय १८ वटा मौरीघार अनुदानमा वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर–८ क्षेत्रपालका मौरीपालक कृषकलाई मात्रै अनुदानमा ४८ वटा घार वितरण गरेको पालिकाले जनाएको छ । सोमबार पालिकाले एक कार्यक्रमका बीच मौरी घार वितरण गरेको हो । वडा नम्बर–८ बाहेकका अन्य सात वटा वडाहरूमा पनि ७० वटा मौरी घार वितरण गर्ने गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
मौरी घरसँगै क्षेत्रपामा खेतबारी जोत्ने मिनी हाते ट्याक्टर पनि वितरण गरिएको छ । वडाले गाउँपालिकाबाट चालू वर्ष विनियोजित बजेटमार्फत किसानलाई मौरीघार तथा गत वर्ष देशभर फैलिएको लम्पिस्किन रोगको कारण गोरु मरेका किसानलाई सामूहिकरूपमा प्रयोग गर्नेगरी सात थान हाते ट्याक्टर अनुदानमा वितरण गरिएको सो वडाका वडाध्यक्ष शान्तबहादुर जिरेल जानकारी दिए ।