काठमाडौं । आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारेर दुबई हुँदै कुवेत पुर्याएर बन्दक बनाएको आरोपमा दुई जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा दैलेखका राकेश भनिने गोपाल सुनार र गोरखाका आयुष भनिने आकाश बाबु वि.क रहेका छन् ।
उनीहरुलाई काठमाडौंको बौद्ध पिपलबोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले नेपाल सरकारबाट घरेलु कामदारमा निषेधित गरेको क्षेत्रमा इजाजत बेगर आफ्नो नाम ढाटी ठुलो संख्यामा महिला पठाउने गरेको प्रहरीको भनाइ छ । त्यस्तै महिलालाई संयुक्त अरब ईमिरेट दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी लगेर कुवेत पु¥याई घरेलु कामदारको रुपमा काम लगाएको र शारीरिक तथा मानसिक यातना दिने गरेको आरोप पनि लागेको छ ।
पिडितले घरमा काम गर्न नसकेपछि स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएर एक लाख ५० हजार रुपैयाँ मागेको र बढी गरे त्यहि मारिदिने धम्की समेत दिएको पिडितका आफन्तहरुले बताएका छन् । उनीहरुले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली एजेन्ट राखेर भिजिट भिसामा दुबई पुर्याउने र त्यहाँ गएपछि भिजिट भिसा आफुहरुले डिमाण्ड बनाई बिभिन्न प्रलोभनमा पारेर कुवेत पुर्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारको नाममा जन्म मिति फरक राखी ठेगाना फरक बनाई २ वटा नागरिकता लिएको समेत भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरुले बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी त्यहाँ पुगेपछि प्रलोभनमा पारेर कुवेत पु¥याई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भनी विश्वास दिलाई फसाउने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । कुवेत पु¥याएपछि घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाउने गरेको रेग्मीले बताए ।
कुवेतमा बन्दकमा परेका महिलाहरुलाई कुवेतमा रहेको नेपाली दुतावासको सहयोगमा उद्धार गरेर नेपाल ल्याइएको र उनीहरुको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्युरोको जिम्मा लगाइएको छ ।