काठमाडौं, जेठ ३२
कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्रीहरू खरिदमा मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरेको हो ।
पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रेलगायत विभिन्न सामग्री खरिदमा मेगा बैंकका ग्राहकहरूलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जानकारी दिएको छ ।
मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरूले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम पाँच सय रूपैंयासम्म छुटको व्यवस्था गरिएको छ । रिचार्जरको वेबसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरूले सामान अर्डर गर्न सक्नेछन् । देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित खतराबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४५ करोड १० लाख ९० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब २१ करोड ४२ लाख ८२ हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार चार सय ४५ रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब सात करोड ४० लाख २७ हजार रूपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७४ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब १८ करोड ३३ लाख ८८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले ७८ अर्ब ६८ करोड ४८ लाख ५९ हजार रूपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ८६ करोड १३ लाख २७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ७५ करोड २७ लाख ९६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।