कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणीस्थित ग्वालावारी सामुदायिक वनमा अवैधरुपले सालका रुख कटानी गरेको पाइएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले सालको सुकेको खडा एक र ढलापडा एक गरी दुई रुख बुधबार कटान गरी गोलिया बनाइ तस्करी गर्नका लागि ठिक्क पारिएको अवस्थामा बरामद भएको बताए ।
उनले खडा रुखबाट ११ र ढलापडा रुखबाट पाँच गरी १६ गोलिया आराको प्रयोग गरी काटेर राखिएको अवस्थामा फेला पारिएको बरामद काठ तीन सय १५ दशमलव ५० क्युविक फिट रहेको छ । बरामद काठ बाणी सव डिभिजन वन कार्यालयमा राखिएको छ । अवैधरुपमा काठ तस्करी गर्नका लागि रुख कटानी गर्नेहरुको पहिचान गर्न सव डिभिजन वन कार्यालयले अनुसन्धानको कार्य अगाडि बढाएको जनाएको छ ।
सव डिभिजन वन कार्यालयले अनुसन्धान गरी तयार गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी अवस्थीको भनाइ छ । यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैधरुपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए ।