सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । सभामुख भीमबहादुर भण्डारीले बिहीबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासका मतका लागि पेस गरेको प्रस्तावका पक्षमा २८ मत परेको र सो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको बहुमत भएको घोषणा गरे ।
प्रतिपक्षी दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टीका पाँच सदस्यसहितले गरेको बेल घेराउ र नाराबाजीका बीच मुख्यमन्त्रीले विश्वासको मत पाएका हुन् ।
सभामुख भीमबहादुर भण्डारीको अनुमतिमा मुख्यमन्त्री सोडारीले दोस्रो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले बेल घेराउ गरी नाराबाजी गरिरहँदा पनि विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । यससँगै प्रतिपक्षी नेपाली कांग्रेसका १८,नागरिक उन्मुक्तिका पाँच र राप्रपाका एक सदस्यले मतदान प्रक्रियामा भाग नलिई बैठकबाट बाहिरिएका थिए ।
प्रदेशसभाबाट विश्वासको मतपाएपछि मुख्यमन्त्री सोडारीले एक–दुई दिनभित्र सरकारले पूर्णता पाउने बताए । यसअघि आजै प्रदेशसभाको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यले आफ्नो ठाउँबाट उठेर विरोध गरेका थिए । सभामुखले आफ्नो भनाइ राख्न दिएको समयमा प्रतिपक्षी नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले सरकार गठनको प्रक्रियामा प्रश्न उठाएका थिए ।