काठमाडौं, जेठ ३२
नेपालको पहिलो पटक कोरोना बीमाको दाबी भुक्तानी भएको छ । बीमा समितिले वैशाख ७ गते जारी गरेको बीमालेखअन्तर्गत करिब ५० दिनपछि पहिलो पटक दाबी परेको हो । नेको इन्स्योरेन्सका मानव संसाधन विभाग प्रमुख दीर्घबहादुर अर्यालमार्फत बीमितलाई बीमाबापतको एक लाख रूपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
कृषि विकास बैंक गुल्मीमा कार्यरत कर्मचारीलाई नेको इन्स्योरेन्स कम्पनीले पहिलो पटक कोरोना बीमाबापतको दाबी भुक्तानी दिएको हो । कृषि विकास बैंकले गरिदिएको सामूहिक कोरोना बीमाअन्तर्गत डाँगीको बीमा गरिएको थियो । पीसीआर परीक्षणका क्रममा उनको संक्रमण पोजेटिभ देखिएसँगै मागदाबी परेको कम्पनीले जनाएको छ । नेको इन्स्योरेन्सले उक्त रकम कृषि विकास बैंकलाई बुझाएको छ । सो बैंकमार्फत बीमितलाई त्यसको भुक्तानी गरिनेछ । नेकोका अनुसार कम्पनीले अहिले आफ्नै कोषबाट उक्त रकम भुक्तानी दिएको हो । यस्तो भुक्तानीबापतको शोधभर्ना बीमा पुलसँग माग्ने कम्पनीका सूचना अधिकारी विष्णु धितालले बताएका छन् ।
कृषि विकास बैंकका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेको इन्स्योरेन्सले कोरोना बीमाअन्तर्गत एक लाख दाबी भुक्तानी गरेको छ । कोरोना बीमामा परेको यो पहिलो दाबी तथा भुक्तानी भएको नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्काले जानकारी दिए ।
निर्जीवन बीमा कम्पनीहरूले कोभिड १९ को बीमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना पीसीआर परीक्षण पोजिटिभ देखिएको अवस्थामा बीमा दाबी भुक्तानी दिइने गरेको छ । प्रतिव्यक्ति एक हजार रूपैयाँमा एक लाख रूपैयाँको र पाँच सय रूपैयाँमा ५० हजार रूपैयाँको कोरोना बीमा गर्न सकिने व्यवस्था छ । समूहमा गर्दा एक लाखको बीमा प्रति व्यक्ति छ सय रूपैयाँ र ५० हजारको बीमा गर्दा प्रतिव्यक्ति चार रूपैयाँमा कोराना बीमा हुन्छ । सरकारले भने आगामी आर्थिक वर्षको बजेटमार्फत कोभिड–१९ को बीमामा सरकारले ५० प्रतिशत अनुुदान दिने व्यवस्था गरेको छ ।