काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका निजी क्षेत्रका ऊर्जा उद्यमीहरुको छाता सङ्गठन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को २२औँ साधारणसभालाई सम्बोधन गर्दै मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताका पक्षमा सरकार रहेको बताएका छन् ।
प्रधानमन्त्रीले नयाँ ऊर्जाका साथ ढुक्क भएर ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न आह्वान गर्दै निजी क्षेत्रको संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले लिएका नीतिहरूको प्रभावकारी सम्प्रेषण गर्न र आयोजना निर्माणमा थप तीव्रता दिन समेत आग्रह गरे । उनले यसका लागि सरकारले सम्भव सहयोग गर्ने पनि बताए ।
‘अवरोधहरू तोडौँ, स्वदेशी लगानीको प्रवर्द्धन गरौँ’ भन्ने नारासहित इप्पानको साधारणसभा आयोजना गरिएको हो । नेपालमा ऊर्जा उत्पादन सुरू भएको एक सय १३ वर्ष पुगेको छ । नेपालको निजी क्षेत्रले जलविद्युत् उत्पादनमा व्यापारिक र व्यावसायिक रूपमा काम गर्न थालेको साढे दुई दशक पूरा भएको छ । यसबीचमा नै सङ्गठित रूपमा इप्पान स्थापना भएर शुक्रबार २२औँ वार्षिकोत्सव मनाउन लागेकोमा प्रधानमन्त्रीले खुशी व्यक्त गरे ।
१९६८ साल जेठ ९ गते पहिलोपटक फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भएको थियो । यस अवधिमा तीन हजार दुई सय मेगावाट ऊर्जा उत्पादन भएको छ । यसमध्ये निजी क्षेत्रबाट दुई हजार चार सय सय मेगावाट ऊर्जा उत्पादन भएको छ । देशको विकास र समृद्धिको यात्रामा यो निकै ठूलो उपलब्धी भएको प्रधानमन्त्रीको भनाइ छ ।
छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता भएको तथा भारतको ग्रीडलाइन हुँदै बङ्गलादेशसँग विद्युत् व्यापार गर्ने सम्झौतामा समेत हस्ताक्षर भएको स्मरण गर्दै प्रधानमन्त्रीले नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता भएको बताए ।