काठमाडौं । सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शुक्रबार एक कार्यक्रमकाबीच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन् ।
त्यहाँस्थित भूमिहीन दलित÷आदिवासी जनजाति तथा अतिविपन्न परिवारहरूका लागि सुरक्षित भूमि (भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी) र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजनाअन्तर्गत गढीगाउँपालिका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेसनल नेपाल र संकल्प नेपालले संयुक्तरूपमा उक्त भवन निर्माण सम्पन्न गरेको हो । गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो । २०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्न भएको हो । विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यअन्तर्गत निर्माण गरिएका भवनमा दुई वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन् ।
गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपैयाँ, ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपैयाँ, संकल्प नेपालको १८ लाख रुपैयाँ लागत तथा घरधनीको श्रमदान छ लाख रुपैयाँ बराबरसहित एक करोड ७ लाख ५० हजार दुई रुपैयाँ कुल लागतमा उक्त भवन निर्माण परियोजना सम्पन्न भएको हो । सो कार्यक्रममा मन्त्री भगवती चौधरीले स्वयं समुदाय सक्रिय नहुँदासम्म परियोजना सफल हुन नसक्ने बताइन् । आगामी दिनमा यस्ता योजनाहरू सफल पार्न स्थानीय नेतृत्व नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो । ‘अझै पनि थुप्रै भूमिहीन, सुकुम्बासी समुदायहरू हुनुहुन्छ । उहाँहरूको व्यवस्थापनका निम्ति पनि हामी सबै एकजुट भएर काम गर्न आवश्यक छ’, उनले भनिन् । अझै पनि हजारौं घर बनाएर विपन्न परिवारलाई व्यवस्थापन गर्ने लक्ष्य रहेको उनले बताइन् ।