काठमाडौं । महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले सी लिड्स आइकन २०८१ को आवेदन खुला गरेको छ । महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पु¥याउने उद्देश्यले सो आवेदन खुला गरिएको हो ।
महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा नीति, महिला सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरू बीचमा प्रतिस्पर्धा गराउने आयोजकले जनाएको छ । आयोजकका अनुसार साउन २८ गतेसम्म सी लिड्स आइकनमा भाग लिनको लागि आवेदन दिन सकिनेछ । नेपाली महिला जनप्रतिनिधिहरूको सहभागितामा जीवन भोगाइ, जनप्रतिनिधि भएपश्चात गरेका राम्रा कामहरू, अहिले पनि भोग्नु परेका समस्या र चुनौतीहरूलाई समावेश गरेर प्रेरणादायी वृत्तचित्रसहित ‘राजनीतिमा महिला’ विषयक राष्ट्रिय बहसको थालनी समेत सुरु गरिसकेको कल्प इम्पावर वेमेन नेपालकी अध्यक्ष पूजा कोइरालाले बताइन् ।
नेपाली महिला जनप्रतिनिधिहरूको प्रेरणादायी जीवनीमार्फत समग्र महिला अधिकारको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने, राजनीतिक क्षेत्रबाट टाढा रहेका तथा सुरुवाती अवस्थामा रहेका महिलाहरूलाई हौसला तथा ऊर्जा प्रदान गर्ने, राजनीतिक क्षेत्रमा पछाडि पारिएका महिलाहरूमा राजनीतिक सोच र क्षमताको अभिवृद्धि गर्न भूमिका निर्वाह गर्ने, संविधान प्रदत्त महिला अधिकारलाई व्यावहारिकरूपमा महिलाहरूले प्रयोग गर्ने वातावरण मिलाउन दबाब सिर्जना गर्ने उद्देश्य सि लिड आइकनको रहेको छ ।