काठमाडौँ । सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको छ ।
संसद भवन नयाँ बानेश्वरमा कांग्रेस सदंसदीय दलको सोमबार बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै सहकारीमा गृहमन्त्री लामिछानेको संलग्नताको विषय सञ्चारमाध्यममा आएको विषय मात्र नभइ प्रहरीले छानबिन गरेको र जिल्ला अदालतमा दायर गरेको अभियोगको विषय भएको जानकारी दिए ।
उनले भने, “सहकारीको रकम अपचलनमा छानबिन गर्न र संलग्नलाई कडा कारबाही गर्न स्वतन्त्र निष्पक्ष समिति गठन गर्नुपर्ने भन्ने हाम्रो बटम लाइन हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा गृहमन्त्री लामिछानेले लगाएका आरोप असत्य, भ्रामक र कपोलकल्पित हुन् ।”
गृहमन्त्री लामिछानेले सदनमा अर्कालाई प्रश्न गर्ने होइन, आफूमाथि उठेका प्रश्नको जवाफ दिने हो प्रमुख सचेतक लेखकले भने । गृहमन्त्री लामिछानेको गैरजिम्मेवार भनाइ र प्रस्तुतिका सन्दर्भमा कांग्रेसले प्रधानमन्त्रीकोसमेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले गृहमन्त्री लामिछानेले लगाएका आरोपलाई निष्पक्ष र स्वतन्त्र छानबिन गरी प्रमाणित गर्न खुला रहेकोसमेत निर्णय गरेको प्रमुख सचेतक लेखकले बताए ।