सरकार गठन भएको १६ महिनापछि पहिलोपटक मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएकोे छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । मन्त्रीहरूले घरजग्गा, बैंकमा नगद जम्मा, सुनचाँदी, सेयर, गाडीलगायत जायजेथा रहेको विवरण सार्वजनिक गरेका छन् ।प्रधानमन्त्री दाहालले चितवनमा १५ कठ्ठा जमिन रहेको विवरण उल्लेख गरेका छन् । यसअघि २०७३ सालमा प्रधानमन्त्री हुँदा एक कठ्ठा मात्रै पैतृक सम्पत्ति देखाएका थिए । प्रधानमन्त्री दाहालले पाँच तोला सुन, २५ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको देखाएका छन् ।उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसँग १० बिघाभन्दा बढी जमिन देखिएको छ । महासेठसँग धनुषामा साढे दुई तल्ला घरसहित तीन कठ्ठा जमिन, ललितपुरमा दुई रोपनी १३ आना जग्गामा साढे दुई तले घर, धनुषा क्षिरेश्वरनाथ नगरपालिकामा सात बिघा तीन कठ्ठा जमिन, जनकपुर उपमहानगरपालिकामा तीन कठ्ठा जमिन, धनुषामै एक बिघा १५ कठ्ठा जमिन, सिन्धुली कमलामाई नगरपालिकामा चार कठ्ठा, ललितपुर महानगरपालिकामा एक रोपनी सात आना जमिन रहेको उल्लेख गरेका छन् । महासेठले श्रीमती र आफ्नो नाममा जमिन रहेको देखाएका छन् । उनले जग्गा बिक्री र पैतृक जग्गाको कृषि बालीबाट दुई करोड २५ लाख रुपैयाँ प्राप्त भएको देखाएका छन् । उनले ४३ तोला सुन र साढे एक किलो चाँदी पैतृक तथा उपहारबाट प्राप्त भएको देखाएका छन् । यसबाहेक सात थान आँैठी, तीन थान सिक्री, तीन जोडा कानमा लगाउने गहना र दुई जोडा बाला रहेको उल्लेख गरेका छन् । महासेठसँग गुडविल फाइनान्सको पाँच लाख रुपैयाँ बराबरको, महिला लघुवित्तको एक करोडको र कर्पोरेट बैंकको दुई करोड ५० लाख बराबरको सेयर रहेको छ । यसबाहेक सगोल परिवारको नाममा पनि घर तथा जग्गा रहेको विवरण सार्वजनिक गरेका छन् ।
अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा सिरान्चोकमा करिब ३८ रोपनी जग्गा पैतृक सम्पत्ति र बैंकमा एक लाख २२ हजार रुपैयाँ तथा प्रधानमन्त्री दाहालले प्रयोगका लागि दिएको महिन्द्रा गाडी रहेको देखाएका छन् ।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक आना पैतृक जग्गा रहेको देखाएका छन् । यसबाहेक १० रोपनी सगोलमा रहेको, श्रीमती निकिता पौडेलको नाममा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ मा पाँच आना जग्गामा बनेको घर देखाएका छन् । त्यस्तै, गोपीकृष्ण मुभिजको जग्गा १० रोपनी आठ अनाको २५ प्रतिशत सेयर, करिब ८० तोला सुन, चाँदीका भाँडाकुडा १५ दशमलव २० किलो रहेको उल्लेख गरेका छन् । त्यस्तै, आफ्नो नाममा ग्लोबल आइएमई बैंकमा पाँच हजार रुपैयाँ, नेपाल बैंकमा एक लाख पाँच हजार रुपैयाँ, श्रीमतीको नाममा सिद्धार्थ बैंकमा पाँच हजार रुपैयाँ, नेपाल बैंकमा पाँच लाख रुपैयाँ, सनराइज बैंकमा १५ हजार रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा २८ हजार रुपैयाँ र प्रभु बैंकमा १० हजार पाँच सय ११ रुपैयाँ रहेको देखाएका छन् । श्रीमतीको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको २५ प्रतिशत (आठ लाख ७५ हजार कित्ता) सेयर र टाटा नेक्सन ईभी कारलाई आफ्नो सम्पत्तिको रूपमा देखाएका छन् । त्यस्तै, श्रीमतीको नाममा घर किन्न लिएको एक करोड ५० लाख ऋण लिएको पनि उनको सम्पत्ति विवरणमा छ । नारी टेलिभिजन सञ्चालन गरिरहेको गोपीकृष्ण इन्टरनेसनल नारी टिभी प्रालि र गोपीकृष्ण कामाक्ष्य मिडिया गरी दुवै कम्पनीको मूल्य चार करोड रुपैयाँ रहेको देखाएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले रोल्पामा आठ सय २० वर्ग मिटर पैतृक सम्पत्ति, एनएमबी बैंकमा ३३ लाख ७० हजार छ सय १८ रुपैयाँ नगद मौज्दात र एउटा सवारी साधन पार्टीको सम्पत्ति रहेको देखाएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले १२ स्थानमा जग्गा जमिन रहेको देखाएका छन् । अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौं र धादिङमा, अर्यालको नाममा लमजुङ र भक्तपुरमा जग्गा रहेको देखाएका छन् । उनको कुल जग्गा १५ रोपनीभन्दा बढी छ । यस्तै, सुन एक सय ५० तोला, चाँदी एक सय तोला, हिरा १० तोला रहेको देखाएका छन् । विभिन्न सात वटा बैंकमा दुई करोड १८ लाख नगद मौज्दात, ६६ लाख रुपैयाँ बराबरको विभिन्न कम्पनीको सेयर, दुई करोड ५० लाख रुपैयाँ ऋण, टोयोटा प्राडो कार र टाटा नेक्सन ईभी कार एक वटा सम्पत्ति रहेको विवरण सार्वजनिक गरेका छन् । यस्तै, स्वयम्भु स्टार ब्याङ्क्वेट, सुमिरे ट्राभल्स, ईजी लिंक रेमिट, एपीए ह्यान्डीक्राफ्टमा लगानी रहेको उल्लेख गरेका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा पैतृक जग्गा, सुर्खेतमा श्रीमतीको नाममा माइतीबाट प्राप्त जग्गा, ३५ लाख नगद र पाँच तोला सुन, बैंकमा १० लाख नगद र छ लाखको सेयर र एउटा स्कोरपियो गाडी रहेको देखाएका छन् ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले काठमाडौंको कीर्तिपुरमा पाँच आना, बझाङमा चार रोपनी, सगोलमा जग्गा, सुन करिब ३२ तोला, चाँदी ६० तोला पैतृक र उपहारबाट प्राप्त भएको उल्लेख गरेका छन् । यस्तै, विभिन्न बैंकमा एक लाख ६९ हजार रुपैयाँ र आठ लाख रुपैयाँको सेयर लगानी देखाएका छन् । यस्तै, ४३ लाख रुपैयाँ ऋण देखाएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग नुवाकोट र काठमाडौंको टोखामा जग्गा, सुन छ तोला, चाँदी सात÷आठ तोला, नगद १३ लाख रुपैयाँ रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकमा सात लाख ५० हजार रुपैयाँ नगद मौज्दात, दुई लाख ५० हजार रुपैयाँ ऋण लिएको र एक लाख ५० हजार रुपैयाँ ऋण दिएको विवरणमा उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग काठमाडौंको कीर्तिपुरमा साढे दुई तलाको घरसहित छ आना जमिन, प्युठानमा पैतृक सम्पत्ति, छ तोला सुन, दुई तोला चाँदी, बैंक खातामा २१ लाख ७८ हजार रुपैयाँ नगद मौज्दात, विभिन्न कम्पनीको १५ सय कित्ता सेयर र एउटा होन्डाई कार रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकमा ६५ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको उनले उल्लेख गरेकी छन् ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग पर्वत कुस्मामा सात आना जमिनमा घर, आमाको नाममा चार आना जमिन, सुन २३ तोला, बैंकमा एक लाख नगद मौज्दात, ५० लाख रुपैयाँ पार्टी प्यालेसमा लगानी छ । उनले नेपाल बैंकबाट ४० लाख रुपैयाँ ऋण लिएको विवरण देखाएका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहसँग बारा र सर्लाहीमा पैतृक सम्पत्ति, सुन १० तोला, चाँदी २५ तोला, बैंकमा नगद मौज्दात ४० हजार रुपैयाँ, चार कठ्ठामा बनेको अढाइ तले घर रहेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग कपिलवस्तुमा दुई बिगाहभन्दा बढी पैतृक सम्पत्ति, काठमाडौंको कीर्तिपुरमा ३५ लाखमा किनेको जग्गा, १० तोला सुन, बैंक खातामा १५ लाख रुपैयाँ, १५ लाख रुपैयाँको सेयर लगानी छ । मन्त्री अधिकारीले ४५ लाख रुपैयाँ विभिन्न व्यक्तिलाई ऋण दिएका छन् ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बैतडी पाटनमा छ कोठे घर, दुई रोपनी जग्गा, कञ्चनपुरमा दुई कठ्ठा जमिन, सुन छ तोला, बैंकमा १२ लाख १५ हजार नगद मौज्दात, संगम हस्पिटालिटीमा आठ लाख सेयर लगानी रहेको छ । यस्तै, उनले १० लाख रुपैयाँ ऋण देखाएका छन् ।महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग सुनसरी दुह(बीमा जग्गा, काठमाडौंमा १२ आना जग्गा, सुनसरीमा जग्गा र दाङमा जग्गा रहेको छ । यस्तै, चाँदी २५ केजी र सुन ७५ तोला, बैंकमा १८ लाख नगद मौज्दात रहेको छ । यस्तै, १७ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर लगानी छ ।
खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग धनकुटामा जग्गा, १० तोला सुन, एक सय तोला चाँदी सम्पत्ति छ । यस्तै, उनले ब्यक्ति र बैंकबाट ५५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् ।रक्षामन्त्री हरिप्रसाद उप्रेतीसँग सर्लाहीमा ७५ कठ्ठा जमिन, सुन २५ तोला र एउटा गाडी सम्पत्तिको रूपमा छ । सहरी विकासमन्त्री धनबहादुर बुढासँग डोल्पामा करिब पाँच रोपनी जग्गा, काठमाडौंमा ३७ आना जग्गा, काठमाडौंमै अर्को स्थानमा सात आना जग्गा रहेको छ । यस्तै, सुन एक सय ५० तोला, चाँदी तीन सय तोला र बैंकमा ६० लाख नगद मौज्दात रहेको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग काभ्रेमा आठ रोपनी छ आना जमिन, सुन १० तोला, चाँदी एक सय तोला, हिराको सेट एक, हिराको टप एक सेट रहेको छ । बैंकमा एक करोड ५२ लाख रुपैयाँ, श्रीमान्को नाममा एक सय ८९ दशमलव सात हजार डलर र एक लाख ८० हजार युरो नगद मौज्दात छ । यस्तै, विभिन्न कम्पनीमा सेयर रहेको उल्लेख छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग काठमाडौंमा छ आना जग्गा, सुन १५ तोला, चाँदी ५० तोला, विभिन्न बैंकमा साढे ८३ लाख नगद मौज्दात, विभिन्न कम्पनीमा एक करोड नौ लाख ८० हजार रूपैयाँ बराबरको सेयर लगानी रहेको छ । यस्तै, ५३ लाख ५० हजार ऋण, दुई वटा स्कुटर, एउटा एमजी विद्युतीय सवारी र तीन लाख बराबरको घडीहरू रहेको देखाएका छन् ।
वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीसँग सप्तरीमा नौ ठाउँमा जमिन र घर रहेको छ । त्यस्तै, अर्काे १५ ठाउँमा जमिन, एक सय ५८ तोला सुन, एक किलो चार सय २९ ग्राम चाँदी रहेको छ । बैंकमा ४५ लाख ९९ हजार नगद मौज्दात र जानकी फन पार्क धनुषामा एक करोड ३५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत सेयर रहेको छ । यसबाहेक विभिन्न व्यक्तिसँग लिएको ऋण ८० लाख रुपैयाँ र बुहारीको एउटा गाडी रहेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले भने सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।