काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले झण्डै नौ खर्ब रुपैयाँबराबरको तरलता उपयोग गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा बैंक तथा वित्तीय संस्थाले सो परिमाणमा तरलता उपयोग गरेको देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत सात खर्ब ९४ अर्ब एक करोड रुपैयाँसहित कुल सात खर्ब ९५ अर्ब २१ करोड रुपैयाँ तरलता उपयोग गरेका हुन्, राष्ट्र बैंकले भनेको छ ।
यस अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत छ खर्ब ९३ अर्ब पाँच करोड र स्थायी निक्षेप सुविधामार्फत आठ खर्ब ६८ अर्ब ३५ करोड गरी कुल १५ खर्ब ६१ अर्ब ४० करोड रुपैयाँबराबरको तरलता प्रशोचन गरिएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणहरूमार्फत ४४ खर्ब ४४ अर्ब नौ करोड रूपैयाँ तरलता प्रवाह गरिएको थियो ।
यस अवधिमा विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरूबाट अमेरिकी डलर चार अर्ब २८ करोड खुद खरिद गरी पाँच खर्ब ६८ अर्ब ५८ करोड तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर चार अर्ब २७ करोड खुद खरिद गरी पाँच खर्ब ५७ अर्ब ८१ करोड तरलता प्रवाह गरिएको थियो । नौ महिनामा अमेरिकी डलर दुई अर्ब ७६ करोड बिक्री गरी तीन खर्ब ६६ अर्ब ९९ करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ५४ करोड बिक्री गरी चार खर्ब ६२ अर्ब १४ करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
सहुलियत कर्जातर्फ २०८० चैत मसान्तमा एक लाख २७ हजार दुई सय १२ ऋणीलाई प्रवाह भएको एक खर्ब ४० अर्ब ५० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार छ सय ४८ ऋणीलाई प्रवाह भएको ९४ अर्ब ८५ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ७५ हजार तीन सय ३३ महिला उद्यमीलाई प्रवाह भएको ४३ अर्ब ७९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार दुई सय ३१ ऋणीको एक अर्ब ८५ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकको भनाइ छ ।