काठमाडौं, असार १
नेपाल वायुसेवा निगमले उद्धार उडानको भाडादर घटाउने निर्णय गरेको छ । निगमले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई उद्धार उडान गर्दा सहुलियतपूर्ण भाडादरमा सेवा उपलब्ध गराउँदै आएको छ । यस्ता उडानहरुमा यात्रुहरु एकतर्फी मात्र हँुने गर्दा निगमले लागत खर्चलाई मात्र आधार गरी उडान भाडादर निर्धारण गरेको हो ।
निगमलाई यस्तो उडानमा अन्य कुनै संस्था वा निकायबाट आर्थिक सहयोग प्राप्त नभए पनि सामाजिक उत्तरदायित्वलाई मनन गर्दै उद्धार उडानको भाडादर अझ घटाउने निर्णय गरेको छ । यस निर्णयबाट विशेष गरी खाडी राष्ट्रहरु मलेशिया र साइप्रसमा रहेका नेपालीलाई प्रत्यक्ष राहत पुग्ने निगमको भनाइ छ । उडान गर्दा इन्धन, ओभरफ्लाइट, ल्याण्डिङ, एयरक्राफ्ट ह्याण्डलिङ, मर्मतसम्भार आदि खर्च लाग्छ तर उद्धार उडान गर्दा प्रत्यक्ष सञ्चालन खर्च उठे पनि अन्य खर्च उठ्न नसक्ने अवस्था रहेको निगमले जनाएको छ ।