काठमाडौँ । शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायलाई उक्त अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेको हो ।
राष्ट्रपति पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताउँदै बौद्ध दर्शनका प्रवर्तक एवं राष्ट्रका गौरव गौतमबुद्धको जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
“शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु”, राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन् ।