दमक (झापा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा-५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको बताए । “एमाले यो ठाउँमा अब पराजित हुनुुहुन्न, हरेक कार्यकर्ता जनताका बीचमा जानसक्नुपर्छ”, उनले भने ।
देशको विकासमा एमालेका हरेक कार्यकर्तामा महत्त्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले अब देशमा एमालेको एकलौटी सरकार जनताले खोजेका र त्यसका लागि सबै कार्यकर्ता सङ्गठन निर्माणसँगै जनताको घरघरसम्म जानुपर्नेमा जोड दिए ।
पार्टी दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोख्रेलको अध्यक्षतामा भएको नगर अधिवेशन उद्घाटनमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईलगायतका नेता, कार्यकर्ताको उपस्थिति थियो । शुक्रबारसम्म चल्ने अधिवेशनले पार्टीको नगर नेतृत्व चयन गर्ने जनाइएको छ ।