दमौली (तनहुँ) । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटीले बिहीबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री अधिकारीले पार्टीलाई देशकै सबैभन्दा ठूलो र निर्णायक शक्ति बनाउने अभियानमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । आगामी निर्वाचनमा तीनवटै तहमा एमालेको एकल बहुमत आउने गरी तयारी थाल्न कार्यकर्तालाई आग्रह गर्दै उनले भने, “आगामी निर्वाचनमा स्थानीय, प्रदेश र सङ्घमा बहुमत ल्याउने गरी काम गर्नुपर्ने लक्ष्यमा हिँडेका छौँ । यसका लागि सम्पूर्ण शक्ति लगाउनुपर्छ ।”
देश विकास, स्थिरता र आर्थिक समृद्धिका लागि एमालेलाई मूल शक्तिको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिदै मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेशमा सरकार गठनको विषय सर्वोच्चमा विचाराधीन रहेको भन्दै सर्वोच्चको फैसला मानेर जानुको विकल्प नभएको उल्लेख गरे ।
मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारले बजेट निर्माणको प्रक्रिया सुरु गर्न लागेको बताउँदै शुक्रबारदेखि सिद्धान्त र प्राथमिकताका विषयमा प्रदेशसभामा छलफल प्रारम्भ गरिने जानकारी दिए । उनले समाजवादको यात्रामा अगाडि बढ्ने क्रममा आइपर्ने बाधालाई पन्छाउँदै निरन्तर गन्तव्यतर्फ लाग्नुपर्ने उल्लेख गरे ।
भ्रष्टाचारलाई ढाकछोप गर्ने, कानुनको दुरुपयोग गर्ने लगायतका काम कोही कसैले गर्न नहुनेमा जोड दिदै मुख्यमन्त्री अधिकारीले पार्टीभित्र कोही पनि सदस्य सहकारीको अपचलनमा रहेको भेटिए तत्कालै कारबाही गरिने उनको भनाइ छ । उनले प्रदेश सरकार प्रदेशलाई समृद्ध र विकासको गतिमा अगाडि बढाउन दृढ भएर लागेको उल्लेख गरे ।